चैत ९, वीरगंज । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पश्चात् डा। महावीर पुनले पहिलो पटक वीरगञ्जमा आफ्नो आत्मकथा किताब बिक्री गरेका छन् ।
म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा। पुनले आइतबार साँझ वीरगञ्ज पुगेर सोमबार बिहान घण्टाघर चोकमा र दिउँसो कृषि औजार कारखानामा आफ्नो आत्मकथा किताब बिक्री गरेका हुन् ।
उनले सोमबार बिहान ८ देखि ११ बजेसम्म घण्टाघर चोकमा बसेर १५० थान किताब बिक्री गरेको जानकारी दिएका छन् । डा। पुनले मङ्गलवार साँझसम्म वीरगञ्जस्थित कृषि औजार कारखानामा रहने बताउँदै किताब किन्न इच्छुकहरूले कारखानामै सम्पर्क गर्न सक्ने जनाएका छन् । मङ्गलवार साँझ उनी काठमाडौँ फर्किने कार्यक्रम छ ।
चुनावपछि फुर्सदको समय सदुपयोग गर्दै विभिन्न जिल्लामा किताब बिक्री अभियान चलाएको उनले बताए । “यसअघि किताब बेच्दै हिँड्दा बिचमा मन्त्री भइयो, मन्त्री हुँदा किताब बेच्न सकिएन । चुनावमा उठ्दा पनि बेच्न सकिएन । अब चुनाव जितेपछि फुर्सद छ, त्यही भएर किताब बेच्न हिँडिरहेको छु,” उनले भने ।










