वीरगंजमा रगतको चरम अभाव दैनिक १०० पिन्ट आवश्यक, निर्वाचन यता भएन रक्तदान कार्यक्रम
चैत, ९ वीरगंज । रक्तसञ्चार केन्द्र, वीरगंजमा पछिल्लो समय रगतको चरम अभाव देखिएको छ ।
प्रतिनिधिसभा निर्वाचनयता केन्द्रमा रगतको अभाव हुँदै आएको र हाल कुनै पनि समूहको रगत सञ्चित नरहेको केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले जानकारी दिएका छन् ।
उनका अनुसार रगत अभावसँगै अहिले अस्पतालहरूमा बिरामीको चाप पनि बढ्दो छ । दैनिक डेढ सयभन्दा बढी बिरामी विभिन्न अस्पतालबाट रगत लिन केन्द्रमा आउने गरेका छन् । हाल सोधभर्ना ९रिप्लेसमेन्ट० प्रणाली मार्फत मात्रै रगतको अभाव टार्ने प्रयास भइरहेको केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेय ले बताए ।
सामान्य अवस्थामा केन्द्रमा रगत पर्याप्त हुँदा बिरामीको अवस्था हेरेर सोधभर्नाविना नै रगत उपलब्ध गराइने गरिन्थ्यो । तर अहिले अभावका कारण सोधभर्नाविना रगत आपूर्ति गर्न नसकिएको पाण्डेयले स्पष्ट पारेका छन् ।
उनका अनुसार निर्वाचनअघि विभिन्न राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरूले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका थिए । तर निर्वाचनका कारण यस्ता कार्यक्रम प्रभावित भएका थिए । यसका साथै, यस वर्ष होली पर्व र मुस्लिम समुदायको रमजान एकै समयमा परेकाले पनि रक्तदान कार्यक्रम सञ्चालनमा थप असर परेको उनले बताए ।
रक्तदान कार्यक्रम नहुँदा नै हालको संकट उत्पन्न भएको बताउँदै उनले नयाँ सरकार गठन नहुँदासम्म प्रभावकारी रूपमा यस्ता कार्यक्रम सञ्चालन हुने सम्भावना कम रहेको बताए । साथै, रगत अभावको समस्या समाधान गर्न विभिन्न सङ्घसंस्था तथा सरोकारवालालाई तत्काल रक्तदान कार्यक्रम आयोजना गरी सहयोग गर्न रक्तसञ्चार केन्द्रले आग्रह गरेका छन् ।










