चैत, ८ बारा । उत्पादित आलुको उचित मूल्य नपाउँदा बाराका किसानहरु संकटमा परेका छन् । बारा जिल्लाको सिम्रौनगढ क्षेत्रका आलु किसानहरुले उत्पादन गरेको आलू उचित मूल्यमा बिक्री बितरण गर्न बजार अभावको कारण मारमा परेका हुन ।
बारको सिम्रौनगढ बजार, खजानी, अमरपुर, हरिहरपुर, सलेमपुर, अमृतगंज, जानकीनगर, झवानी, कमलपुर, पर्सा, सतुवाही, देवापुर टेटा, गङ्गानगर, कोतवाली इँटवाल, नौकाटोला लगायत पचरौता क्षेत्रका किसानहरुले करिब १५ सय बिघा क्षेत्रफलमा आलु खेती गरेका छन्, तर उनीहरुले उत्पादन गरेको ती आलुको उचित मूल्यको अभावमा आलुबाट अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।
आलु कृषकहरुले प्रतिक्विन्टल २५ सयदेखि ३६ सय रुपैयाँसम्ममा बीउ खरिद गरिएको थियो । मल, विषादी, सिँचाइ तथा अन्य कृषि सामग्रीमा भएको थप खर्च जोड्दा कम्तीमा प्रतिक्विन्टल दुई हजार रुपैयाँमा बिक्री भए मात्र नाफा हुने अवस्था भए पनि हालसम्म बजारमा आलुको मूल्य घटेर प्रतिक्विन्टल ९०० देखि १२०० रुपैयाँसम्ममा सीमित हँुदा अपेक्षित आम्दनी हुन नसकेको कृषक शिवपुजन महतोको भनाई छ ।
उनले भने, ‘‘मूल्यमा आएको गिरावटका कारण किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ । उत्पादन लागतसमेत उठ्न नसक्दा धेरै किसान ऋणको भारमा पर्ने अवस्था आएको छ ।’’
यस्तै, चैते धान लगाउन खेत खाली गर्नुपर्ने दबाबका कारण किसानहरूले दैनिक २०० देखि ४०० रुपैयाँ ज्यालामा खेत सफाइ गराइरहेका छन् । उक्त खर्चसमेत आलु बिक्रीबाट व्यहोर्नु पर्दा कृषकहरु थप मारमा परेका छन् ।










