चैत, ४ वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पार्टीका सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी नहुने भएका छन् ।
पार्टीका नेता एवं नवनिर्वाचित सांसद गणेश पराजुलीले स्वास्थ्य अवस्था असहज भएकाले वरिष्ठ नेता साहको कार्यक्रममा उपस्थिति टुङ्गो नलागेको प्रतिक्रिया दिएका छन् ।
बुधबार आयोजित कार्यक्रममा सहभागी रहेका पराजुलीले सभापति रवि लामिछाने केहीबेरपछि अभिमुखीकरण कार्यक्रममा आउने बताए। उनका अनुसार, सभापति लामिछानेको स्वास्थ्यमा सुधार आएकाले उनी सहभागी हुने सुनिश्चित भएको हो ।
सांसद पराजुलीले भने, “यतिखेर सभापतिजी अस्वस्थ हुनुहुन्छ। उहाँको स्वास्थ्य सुधार भइरहेको छ भने वरिष्ठ नेताज्यूमा पनि स्वास्थ्य समस्या आइरहेको हुँदा हिजो देखिनै यहाँ आउन सक्नु भएको छैन । यद्यपि आज अलि सन्चो भएको खण्डमा आइपुग्ने संभावना छ । सभापतिजीको स्वास्थ्य सुधार भएको र उहाँ आउँदै हुनुहुन्छ । वरिष्ठ नेताज्यूको स्वास्थ्य अस्वस्थता सम्बन्धी जानकारी हामीसँग छ। तथापि, उहाँहरूले यो कार्यक्रममा सहभागी हुनुपर्ने छैन भन्ने प्रश्न जायज हो ।”
सांसद पराजुलीले आफूहरू मुलुकमा सुशासन स्थापित गर्न केन्द्रित भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।










