वीरगंजमा रहेका बेरोजगार व्यक्तिहरूको सूची तयार पार्दै महानगर, चैत्र २५ सम्म निवेदन दिन आह्वान

चैत, ४ वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने विभिन्न रोजगारमूलक कार्यक्रमहरूमा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिहरूको सूची अद्यावधिक तथा नयाँ दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।

आर्थिक विकास महाशाखाका प्रमुख रामकृष्ण ताम्राकारले एउटा सूचना जारी गर्दै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ ९थ०, रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११ को उपदफा १, रोजगारीको हक सम्बन्धी ९दोस्रो संशोधन० नियमावली, २०७५ को नियम ७ को उपनियम १ तथा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका, २०८२ को दफा १४ ९२० बमोजिम यो सूची तयार पारिन लागेको जनाएका हुन् ।

सूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई आगामी वर्षका रोजगार सिर्जना कार्यक्रमहरूमा प्राथमिकता प्रदान गरिने व्यवस्था रहेको उनले बताए ।

सूचीमा समावेश हुनका लागि १८ वर्ष पूरा भएको तर ५९ वर्ष ननाघेका नेपाली नागरिकहरूले आफ्नो स्थायी बसोबास रहेको वीरगञ्ज महानगरपालिकाको सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचाको निवेदन फाराम भरी आवश्यक कागजातसहित २०८२ चैत्र २५ गते भित्र निवेदन दिनुपर्नेछ ।

निवेदकले नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइज फोटो, सीपमूलक तालिम लिएको भए सोको प्रमाणपत्रको प्रतिलिपि, परिवारका सदस्यहरूको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा बसाइसराइ भएको भए सोको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने हुन्छ ।

यसैगरी, अघिल्लो आर्थिक वर्षमा सूचीकृत भइसकेका बेरोजगार व्यक्तिहरूलाई पनि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि निरन्तरता कायम राख्न तथा सूची अद्यावधिक गर्न तोकिएको फाराम भरी पुनः नवीकरण गराउन आग्रह गरिएको छ । यस प्रक्रियाले बेरोजगार व्यक्तिहरूको तथ्याङ्क अद्यावधिक राख्दै स्थानीय तहमा प्रभावकारी रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इच्छुक तथा योग्य व्यक्तिहरूले समय सीमाभित्रै सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी निवेदन दिनुहुन महानगरपालिकाले अनुरोध गरेको छ । थप जानकारीका लागि वीरगञ्ज महानगरपालिकाको आर्थिक विकास महाशाखा वा सम्बन्धित वडा कार्यालयमा बुझ्न सकिन्छ ।