चैत, ४ काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले विचाराधीन अवस्थामा राखेका छन् । राष्ट्रपतिले अध्ययन र छलफलका लागि भन्दै अर्यालको नियुक्ति सिफारिस विचाराधीन अवस्थामा राखेका हुन् ।
राष्ट्रियसभामा सरकारको सिफारिसमा नियुक्ति हुने एक सिटमा चैत १ गते अर्यालको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति कार्यालय पुगिसकेको छ । स्रोतका अनुसार, अर्याललाई राष्ट्रियसभामा नियुक्ति सिफारिसबारे राष्ट्रपतिले अध्ययन र सल्लाहपछि मात्रै निर्णय लिनेछन् ।
सिफारिस आइपुगेको छ । तहगत रूपमा राष्ट्रपति समक्ष पुगेपछि छलफल र अध्ययन हुन्छ । अहिलेलाई विचाराधीन अवस्था हो,’’ राष्ट्रपति कार्यालय स्रोतले बाह्रखरीसँग भन्यो ।
संविधानको धारा ८६ को उपधारा २ ९ख० मा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना सिफारिस गर्ने व्यवस्था छ । सोही कोटामा अर्यालको नाम सिफारिस भएको थियो ।
यता, अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पनि पेस भएको छ । सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर रिट परेको हो ।
रिटमा सदस्यताको योग्यताबारे संविधानको धारा ८७ को उपधारा १ (ङ) मा संघीय संसदको सदस्य हुन कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्थाविरुद्ध सिफारिस भएको प्रश्न रिटमा उठाइएको छ










