फागुन, ३० वीरगंज । चैते दशैंको अवसर पारेर गहवा माई मन्दिरको ऐतिहासिक डोली यात्रा आयोजना गरिने भएको छ।
माईस्थान सञ्चालक समितिका अनुसार २०८२ साल चैत १२ गते ९मार्च २६, २०२६० बिहीबार गहवा माईको निशान सहित भव्य डोली यात्रा निकालिने तयारी गरिएको हो। डोली यात्रा गहवामाई मन्दिरबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन गरिनेछ।
यात्राको क्रममा बित्ता माई मन्दिर, अलखिया मठ, श्री गणेश मन्दिर, महावीर मन्दिर तथा माईस्थान चिरही लगायतका स्थानमा पूजा–अर्चना गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। यात्रामा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न गहवामाई डोली यात्रा उपसमिति गठन गरिएको समितिले जनाएको छ।
यसै अवसरमा माईस्थान मन्दिर परिसरमा बुधबार बिहान ७ बजेदेखि वृहत् रक्तदान कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रम श्री गहवा माईस्थान मन्दिर र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालन गरिने बताइएको छ।डोली यात्रामा निशान उठाउन इच्छुक भक्तजनहरूले समितिको कार्यालयबाट ३५० रुपैयाँ सहयोग रकम बुझाई माताको झन्डा, पटुका र टोपी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि माईस्थान सञ्चालक समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।










